एनएलजी इन्स्यारेन्सको साउन १५ गते विशेष साधारण सभा

काठमाडौं । एनएलजी इन्स्यारेन्सले साउन १५ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६% (१०ः६६ अनुपातमा) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६% हकप्रद सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्याउने प्रस्ताव सभामा लैजान लागेको हो ।

हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

विशेष साधारण सभा आम्रपाली बेंक्वेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । विशेष सभा प्रयोजनका लागि साउन ८ गते बुक क्लोज हुनेछ ।

साउन ७ गतेसम्म कायम रहने सेयरधनीहरुले सभामा भाग लिन पाउने छन् । एनएलजीलाई हकप्रद सेयर बिक्रीका लागि नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिइसकेको छ ।

अब विशेष साधारण सभा मार्फत प्रस्ताव परित गरी अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । कम्पनीले नियामकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि अपुग हुने पुँजी बोनस सेयरमार्फत पुर्याउने देखिन्छ ।