काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड अर्थात् एलआईसी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो।
कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा २८.४५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा यस कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा एक वर्षको अवधिमै ४० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। गत आवमा कम्पनीको आम्दानी बढेका कारण नाफा वृद्धि भएको हो।
कम्पनीको खुद बीमाशुल्क आर्जन १९ अर्ब ८२ करोड ६८ लाख रुपैयाँबाट ६.६५ प्रतिशतले बढेर २१ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ३२ अर्ब ३३ करोड १२ लाख रुपैयाँबाट ३.५२ प्रतिशतले बढेर ३३ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
यता कम्पनीको खुद लाभ तथा दाबी भुक्तानी २६ अर्ब ८३ करोड ८५ लाख रुपैयाँबाट बढेर २७ अर्ब ८६ करोड रुपैयाँ नाघेको छ। कम्पनीको कुल खर्च पनि २९ अर्ब ५५ करोड ५८ लाख रुपैयाँबाट ३.८३ प्रतिशतले बढेर ३० अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५.७४ रुपैयाँबाट बढेर ७.३८ रुपैयाँ पुगेको छ भने जीवन बीमाकोष १ खर्ब ३२ अर्ब ९२ करोड ६६ लाख रुपैयाँबाट १०.४५ प्रतिशतले बढेर १ खर्ब ४६ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७७.८७ रुपैयाँ पुगेको छ भने सोल्भेन्सी मार्जिन अनुपात १.६१ प्रतिशतमै यथावत रहेको छ।
चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोष ५.५४ प्रतिशतले बढेर ७७ करोड ३५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २३ प्रतिशतले घटेर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँमा झरेको छ। कम्पनीको लगानी १ खर्ब १७ अर्ब ३४ करोड रुपैयाँबाट १ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।































