काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढी,पहिरो र डुबानबाट भएको क्षतिको बीमा दाबीको भुक्तानी छिटो दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट नागरिकको ज्यान,घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न जीवन बीमा तथा निर्जिवन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि दाबी भुक्तानी छिटो दिन निर्देशन दिएका छन् ।
प्राधिकरणका अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानीसम्बन्धी कागजातहरूमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिसगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिने जानकारी दिएका छन ।
अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी बिस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्ने तर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताएका छन ।
कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत् कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकलसम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिएका छन ।
साथै उनीहरूले हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरेका छन।
सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल अधिकारी र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।