साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक भएको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन तथा बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत असार २३ गते स्वीकृत गरेको थियो ।

कम्पनीले २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरूमा आव २०७९/८० का लागि नयाँ बोनसदर कायम गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने निर्णय गरेको छ ।

सावधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

त्यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा बीमितलाई बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति योजना) मा कम्पनीले बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनस दिने भएको छ ।