लुम्बिनी प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर 

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले लुम्बिनी प्रदेशमा थप एक नयाँ एक्सटेनस काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

योसँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरू भएका छन् । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमा बोल्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंक मार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनाल लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

त्यस्तै, कार्यक्रमा उपस्थित अतिथिहरूले बैङकिङ सेवाको पहुँच बाहिर रहेको बल्कोट तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैङ्किङ सुविधा सहज रूपमा उपलब्ध हुने बताए ।

बैङ्कका अर्घाखाँची शाखा प्रमुख क्षेत्रीले सेवाग्राहीहरूलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए ।

एक्सटेन्सन काउन्टर मार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरूप बैंकले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ । हाल बैङ्कले २९६ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।