काठमाडौं । लक्ष्मी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि शुक्रबार जेठ २६ गते बुक क्लोज गर्ने भएको छ । आज बिहीबार जेठ २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्नेछन् ।
यस आधारमा सभामा सहभागी हुन आजसम्ममा सेयर खरिद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।
मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ । लक्ष्मी बैंकले असार ३ गते विशेष साधारण सभा डाकेको छ । बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको हो ।
सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । विशेष साधारण सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ ।
मर्जर प्रयोजनका लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौतापत्र पारित गर्नेछ ।
मर्जरपश्चात बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने समझदारी भएको छ । अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।