काठमाडौं । सरकारले २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले आज सोमबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् उक्त ऋण उठाउन लागेको हो ।
साथै, केन्द्रीय बैंकले ३२ अर्ब २० करोड रुपैयाँको ट्रेजरी भने नविकरण गर्न लागेको हो । जसअनुसार राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि १० अर्बको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असार ५ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ ५ गते परिपक्व हुनेछ ।
यसमध्ये २ अर्ब भने नयाँ ऋण उठाउन लागेको हो । बाँकी भने नवीकरण गर्न लागेको हो । १८२ दिनको लागि १२ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी मंसिर ५ गते परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिनको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
यो ट्रेजरी २०८१ जेठ ८ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।