अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग आज छलफल गर्ने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् । देशको वर्तमान वित्तीय अवस्था, आर्थिक समस्या र तिनका समाधानका उपायबारे समीक्षा गर्न बिहान बैठक बस्न लागेको हो ।

बैठक अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ । बैठकमा बैंकका गभर्नर र डेपुटी गभर्नरहरूसँगको नियमित भेटघाट र समन्वय भन्दा अलग हुनेछ । पहिलो पटक देशको वित्तीय नाडी छाम्न सक्ने कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवाद हुन लागेको हो ।

देशको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिको गहिराइ बुझ्ने र उपलब्ध मौद्रिक उपकरणहरूको प्रभावकारी कार्यान्वयनमार्फत अर्थतन्त्रका समस्या पहिल्याई ठोस समाधानका उपायहरू निकाल्नु यस छलफलको मुख्य उद्देश्य रहेको छ।

मौद्रिक नीति निर्माण र नियमनको व्यावहारिक पक्षमा प्रत्यक्ष संलग्न अधिकारीहरूसँगको अन्तरक्रियाले आगामी दिनमा नीतिगत निर्णय लिन थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।