सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवालाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा शुरू गरेको हो । उक्त कार्डलाई प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत् सार्वजनिक गरिएको थियो ।

यस भर्चुअल कार्ड मार्फत् ग्राहकले बिना भौतिक कार्ड १८ लाखभन्दा बढी फोनपे नेटवर्कका व्यावसायिक स्थानमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।

डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई लक्षित गरी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, पूर्ण नियन्त्रण तथा उच्च सुरक्षा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

ग्राहकले मोबाइल बैंकिङ एपमार्फत् सजिलै आवेदन दिन, कार्ड प्राप्त गर्न तथा सक्रिय गर्न सक्नेछन् । साथै, कार्डको सीमा व्यवस्थापन, लक तथा अनलक, स्टेटमेन्ट हेर्ने लगायतका सबै सुविधा एउटै एपबाट सहज रूपमा गर्न सकिने बैंकले जनाएको छ ।

विशेष लन्च अफरअन्तर्गत भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी गरिने प्रत्येक कारोबारमा ग्राहकले ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्, अधिकतम क्यासब्याक ७५० रूपैयाँसम्मको हुनेछ ।

यस अन्तर्गत प्राप्त क्यासब्याकले सदस्यता शुल्क समेत समायोजन गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यो अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मात्र लागू हुनेछ ।

सेवाबारे थप जानकारीका लागि ग्राहकले बैंकको २४ घण्टा सञ्चालनमा रहेको ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमार्फत (०१५९७००२०) सम्पर्क गर्न सक्नेछन् ।