मारुती सुजुकीले आफ्नो पहिलो विद्युतिय कार ई–भिटारालाई युरोपेली बजारमा पठाउन थालेको छ । ई–भिटाराको पहिलो ब्याच १२ युरोपेली देशहरूमा पठाइएको कम्पनीले जनाएको छ ।
मारुती सुजुकीका अनुसार, गुजरातको पिपावाव बन्दरगाहबाट २ हजार ९०० भन्दा बढी युनिटहरू बेलायत, जर्मनी, नर्वे, फ्रान्स, डेनमार्क, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्स, स्वीडेन, हंगेरी, आइसल्याण्ड, अस्ट्रिया र बेल्जियमका लागि पठाइएका हुन् ।
ई–भिटारा मारुती सुजुकीको गुजरात प्लान्टमा उत्पादन गरिएको पहिलो विद्युतीय मोडल हो । प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता मात्र एसेम्बली लाइनको उद्घाटन गरेका थिए। यस विद्युतीय एसयूभीलाई विश्वभरका १०० भन्दा बढी देशहरूमा निर्यात गर्ने कम्पनीको योजना छ ।
मारुति सुजुकी इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ हिसाशी ताकेउचीले भने, ‘युरोपमा ई–भिटाराको निर्यात सुरु हुनु हाम्रो लागि साँच्चै गर्व र परिभाषित क्षण हो । १०० भन्दा बढी देशका ग्राहकहरूलाई खुशी पार्न उत्पादन प्रविधि, डिजाइन, सुरक्षा र कार्यसम्पादनको हिसाबले साँच्चै विश्वस्तरीय हुनुपर्छ ।’
ई–भिटारालाई नेपालमा हालै सम्पन्न नाडा अटो शोमार्फत सार्बजनिक गरिएको थियो । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले यस एसयुभीको बिक्री छिट्टै थाल्ने तयारी गरेको छ ।





























