काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो प्रणालीमा आबद्ध गराएको छ । १०औँ डिजिटल वालेटको रूपमा सिटीपे फोनपेमा आबद्ध भएको हो ।
सिटीपेको आबद्धताले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानीको वातावरण निर्माणमा बलियो भूमिका निर्वाह गर्ने फोनपेले जनाएको छ ।
फोनपेमा आबद्ध भएसँगै अब सिटीपे वालेट प्रयोगकर्ताहरूले अन्तर सञ्चालित क्यूआर नेटवर्क प्रयोग गरी कारोबार गर्न सक्ने छन् । कम्पनीका अनुसार देशभर १.७ मिलियनभन्दा बढी व्यापारिक आउटलेटहरूमा भुक्तानी गर्न सक्ने फोनपेले जनाएको छ ।
हाल फोनेपे नेटवर्कमा ६० भन्दा बढी बैंक र वित्तीय संस्था र वालेट कम्पनीहरूलाई आबद्ध गराएको छ । जसले लाखौं प्रयोगकर्तालाई सुरक्षित र तत्काल डिजिटल लेनदेनको सुविधा दिइरहेको छ ।
सिटीपेलाई स्वागत गर्दै फोनेपेले वित्तीय समावेशीकरण बढाउने र नेपालभर नगद रहित कारोबार प्रवद्र्धन गर्ने आफ्नो भूमिकालाई अझ सुदृढ बनाउने फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारले जानकारी दिए ।
‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु एक महत्वपूर्ण कदम हो । प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र नेपालका जनताको लागि अझ मूल्यवान बनाउँछ । हाम्रो उद्देश्य केवल वालेट र बैंकलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउन हो,’ उनले भने ।
सिटीपेका सीईओ बिनय रेग्मी फोनपेसँगको साझेदारीले प्रविधिबारे मात्रै नभई लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने बताउँछन् ।
सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तत्काल लेनदेन गर्न सक्षम बनाउने उनको भनाइ छ । फोनपेसँगको आबद्धताले देशभर ग्राहकलाई सहज, भर पर्दो भुक्तानी सुनिश्चित गर्ने उनले बताए ।
सिटीपेले आफ्ना ग्राहकहरूका लागि फोनेपे नेटवर्कमार्फत गरिने क्यूआर कारोबारमा आधारित विशेष पर्व अभियान घोषणा गरेको छ । २०२५ सेप्टेम्बर २ तारिखदेखि नोभेम्बर २ तारिखसम्म सिटीपे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन् ।
अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुइवटा सामसुङ ब्रान्ड टेलिभिजन प्राप्त गर्नेछन् । विजेताहरू मासिक रूपमा घोषणा गरिनेछन् । यससँगै, सिटीपेले ५ सय रुपैयाँभन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फोनेपे एक भुक्तानी प्रणाली सञ्चालक हो, जसले आफ्नो अन्तर सञ्चालित नेटवर्क र मोबाइल प्लेटफर्म मार्फत बैंक बीचको व्यक्ति(देखि(व्यक्ति र व्यक्ति(देखि(व्यापारी लेनदेनलाई सहज बनाउँदै आएको छ । फोनेपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो मोबाइल भुक्तानी नेटवर्क कम्पनी हो ।
सिटीपे नेपालमा एक नवीन डिजिटल वालेट एप हो, जसले व्यक्तिहरू र एजेन्टहरूका लागि वित्तीय सेवाहरूको व्यापक श्रृंखला प्रदान गर्दछ ।
नेपालमा सिटीपेको मूल्य प्रस्ताव डिजिटल लेनदेनलाई सरल, छिटो र सुरक्षित बनाउनु हो भने रेमिट्यान्सलाई स्थानीय डिजिटल व्यापारसँग जोड्नु हो । नेपालमा ठूलो आप्रवासी कामदार जनसंख्या भएकाले यस क्षेत्रको उच्च माग छ ।
कम्पनी पूर्ण रूपमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको स्वामित्वमा छ, जुन नेपालको अग्रणी रेमिट्यान्स कम्पनी हो ।



























