विदेश भ्रमण जाँदा २५ सय अमेरिकी डलर सटही सुविधा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई २ हजार ५ सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ।

यसअघि १ हजार ५ सय डलर दिँदै आएको राष्ट्र बैंकले चालू मौद्रिक नीतिमार्फत वर्षमा दुईपटक विदेश भ्रमणमा जाने जोसुकै नेपालीलाई २ हजार ५ सय डलर दिने भएको हो ।

आर्थिक वर्ष २०७८र७९ मा विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना भएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई दिने विदेशी मुद्रा सटहीमा कैंची लगाएको थियो।

तर, गत वर्ष मध्यदेखि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएसँगै राष्ट्र बैंकले चालू मौद्रिक नीतिबाट विदेश घुम्न जाने नेपालीलाई दिने रकम बढाएको हो।

तथापि, सरकारले यसअघि नै विदेश भ्रमणलाई निरुत्साहित गर्न भन्दै कर लगाएको थियो। तर, राष्ट्र बैंक भने मुद्रा सञ्चिति बढेसँगै उदार भएको हो। यसअघि राष्ट्र बैंकले दिएको सुविधा कम भएको भन्दै विदेश यात्रामा जाने नेपालीले गुनासो गर्दै आएका थिए।