कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले खुलायो आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ।

महानगर अन्तर्गतको शिक्षा विभागले आज सूचना जारी गर्दै छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जनाएको छ।

११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाले जनाएको छ ।

आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् ।

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।