ककनीको बोतलबन्द पानी हङकङ र मकाउ निर्यात

काठमाडौं । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न शुरू गरिएको छ । डेढ दशकदेखि बोतलबन्द पानीको व्यापारमा संलग्न ४ व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात शुरू गरेका हुन् ।

गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात शुरू गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए ।

हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात शुरू गरिएको उनले जानकारी दिए । ‘हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि १०० पर्छ ।

नेपालबाट निर्यात हुने तुलनात्मक रूपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ,’ उनले भने । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ ।

‘कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ,’ उनले भने, ‘पहिलो चरणमा १ कन्टेनरमा १ हजार १०० कार्टुन पानी हङकङ निर्यात भइसकेको छ ।’

उनका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ ।

सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक ८ देखि १० कन्टेनर अर्थात् करीब १ लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनले जानकारी दिए ।

यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्ने समेत योजना रहेको उनले सुनाए । सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा १ लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।

‘हङकङ र मकाउपछि बंगलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ,’ उनले भने, ‘त्यस बाहेक कतार,  साउदी अरब र अस्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ ।’

कम्पनीले काठमाडौंको तारकेश्वर नगरपालिका–३ मा करीब १२ करोड लगानीमा ४ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ । कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल छन् ।

४ जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गरेका थिए । यसअघि उनीहरू छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आएका थिए ।

कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षण समेत गरिने उनको भनाइ छ ।

‘१ कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि ३ हजार डलर पर्ने अनुमान छ । २० फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्ने गर्छ । विदेशमा पानी निर्यात गर्दा ३००, ५०० र १ लिटरको बोतलमा हाल निर्यात भइरहेको छ,’ उनले भने ।

कम्पनीको प्रयोग गर्ने पानीको स्रोत ६ हजार ६७० फिट उचाइमा रहेको ककनीमा पर्छ । स्प्रिङ वाटरको महत्त्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ । कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ ।

उनका  अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । ‘हङकङ निर्यातका लागि सोही अनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ,’ उनले भने । कम्पनीमा हाल प्रत्यक्ष ३३ र अप्रत्यक्ष करीब ५०० जनाले रोजगारी पाइरहेको उनको भनाइ छ ।