काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । भदौ १० गतेको रसुवा बाढीका कारण भएको क्षतिपछिको बिमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाका सन्दर्भमा बिमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
“बाढीका कारण देश शोकमा छ । यो कठिन अवस्थामा सबै जना हातेमालो गरौँ । पीडितको क्षतिमा बिमा कम्पनीहरूले मलम लगाऔँ । दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ,” उहाँले भन्नुभयो, “बरु बिमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला । हामी सहयोग गर्न तयार छौँ ।”
मुलुकको कठिन परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको पनि उहाँले बताउनुभयो । भोटेकोशी नदीमा आएको अकल्पनीय र दुःखद बाढीका कारण ठुलो जनधनको क्षति हुनुका साथै जलविद्युत् आयोजना, सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठुलो असर परेको पनि उहाँले उल्लेख गर्नुभयो ।
आजको बैठकले ठुला तथा प्रारम्भिक क्षतिको दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सहजतातर्फ कदम चाल्ने निर्णय पनि गरेको छ । साथै द्रुत दाबी भुक्तानीका लागि कागजी प्रक्रियामा अल्झिएर भुक्तानीमा ढिलाइ हुन नदिन कार्यविधिमा व्यापक सहजीकरण गर्दै साना दाबीका लागि द्रुत भुक्तानी प्रणाली अपनाइने निर्णय पनि भएको छ ।
बैठकले जलविद्युत् आयोजना र ठुला पूर्वाधार जस्ता ठुला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बिमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीस्वरूप भुक्तानी दिइने पनि निर्णय गरेको छ ।
सर्भेयर परिचालनलाई थप चुस्त र पारदर्शी बनाउन नेपाल बिमा प्राधिकरणले ब्ल्याक्वेट सहमति दिँदै प्रणालीमार्फत स्वचालित रूपमा सर्भेयर खटाउने व्यवस्था मिलाउने भएको छ । यस्तै दाबी भुक्तानी प्रक्रियाको नियमित रूपमा दैनिक अनुगमन र सहजीकरण गर्न नेपाल बिमा प्राधिकरणमा विशेष कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, विभिन्न बिमा तथा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र सर्भेयर सङ्घका पदाधिकारीको सहभागिता थियो ।
































