एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड ५१ लाख सहयोग

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि एनएमबि बैंक लिमिटेडले तीन करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

संचालक समितिका अध्यक्षले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी तीन करोड ५१ लाख रुपैयाँ रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नागरिकहरुका लागि दश लाख रुपैयाँ बराबरको राहत सामाग्रीसमेत प्रदान गरेको छ।

अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ।

यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो। यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका जस्ता कार्यहरुमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।