एनआईसी एशिया बैंकको नाफा १४ करोड ३ लाख

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेका कारण नाफा घटेको छ । बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशत घटेर ६ अर्ब ३० करोड ८२ लाख रहेको छ भने सञ्चालन नाफा ४७.८६ प्रतिशत घटेर ६७ करोड २९ लाख रहेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५ करोडबाट घटेर २ अर्ब ९१ करोड ३६ रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर १ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा छ । बैंकको वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ छ।

बैंकले ३ खर्ब ३४ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।