काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा १० प्रतिशत नगद लाभांश जम्मा गर्न थालेको छ। बैंकको असोज २८ गते सम्पन्न २५औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
बैंकका अनुसार साधारणसभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक रूपमा शेयर धारण गरेका र हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा असोज २८ गतेदेखि नै नगद लाभांश जम्मा गर्न थालिएको हो।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।
त्यस्तै भौतिक रूपमा शेयर राखेका शेयरधनीले पहिले शेयर अभौतिकीकरण गर्नुपर्नेछ। त्यसपछि मात्रै नगद लाभांश बैंक खातामा र बोनस शेयर हितग्राही खातामा जम्मा गरिनेछ।
यसैगरी गत असोज १५ गतेसम्म बैंकको शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट अनुमतिपत्र (नो अब्जेक्सन लेटर) प्राप्त भएपछि मात्रै खातामा जम्मा गरिने बैंकले जनाएको छ।






























