काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
समीक्षा अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५०।४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३।४७ प्रतिशतले बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९।९३ प्रतिशतले वृद्धि भएको छ । सञ्चालन मुनाफा १६।६४ प्रतिशतले बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ ।
३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी १५ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३।७७ गुणा रहेको छ।
































