देशभर आउँदो असोजबाट सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं । देशभर आउँदो असोज १ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न प्रदेशमन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने गराउने निर्णय गरेको छ।

बैठकले सबै प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ गतेदेखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको छ।

यसका साथै सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने निर्णय बैठकले गरेको छ।