काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले आज (असोज २० गते) देखि नयाँ टीएमएस प्रयोग गरी सेयर कारोबार गर्न पाउने भएका छन् ।
सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो । अरु ब्रोकर कम्पनीहरु पनि विस्तारै नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारीमा रहेका छन् ।
नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ ।
मोबाइल एप्लिकेसन सहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने उनीहरुको भनाई छ ।
अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् ।
लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हर–हिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था हुन्छ भनिएको छ।
यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले सेयर कारोबार निकै सहज हुने एसोसिएसनको दाबी छ । नयाँ प्रणालीबाट कारोबार चुस्त, छरितो र पारदर्शी हुने दाबी गरिएको छ ।





























