काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबाट जेठ ३१ गतेबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गर्ने भएको छ ।
त्यसको सम्पूर्ण तयारी पूरा भएको छ। जेठ ३१ गते मंगलवार बिहान साढे ७ बजे निगमको १५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्वालाम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं आउने भएको छ ।
०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको करिब १३ महिनापछि ४० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यहाँ व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्रै रहेको थियो ।
जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले गत २०७९ कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।
यसैबीच भैरहवामा व्यावसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने तयारी गरेको छ ।
भैरहवा विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि ‘टर्न–अराउड’ उडान गर्ने भएको छ ।
यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्ने गर्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालक दलका सदस्यहरू पनि हेरफेर हुँदैनन् । न त इन्धन नै भरिन्छ ।
निगमका अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सय हाराहारी यात्रु मलेसियाबाट नेपाल आउने र तीमध्ये मलेसियाका पर्यटन व्यवसायीहरूसहित ८/१० जना भैरहवामा अवतरण गर्ने र बाँकी काठमाडौं ओर्लने बताए ।
निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरू भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।
निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया–भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो ।
मलेसियाबाट भैरहवाको उडान समय ४ः४५ मिनेट हाराहारी रहनेछ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज त्यहाँबाट काठमाडौं आउने छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।
आइतबार राति ९ बजेको उडानमा जाने चालक दलको टोलीले क्वालालम्पुरबाट जेठ ३१ गते बिहान भैरहवाका लागि उडान गर्नेछ । नेपाली वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूको स्वागत गर्न पर्यटन मन्त्री सदन किराँती भैरहवा जाने भएका छन् ।