नलिञ्चोक हेलिपोर्ट उडान–अवतरणमा समस्या

काठमाडौँ । निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले हवाई सुरक्षा जोखिमको कारण देखाउँदै अहिलेकै अवस्थामा नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण गर्न नसकिने जनाएका छन् ।

एक साताअघि सञ्चालनमा आएको भक्तपुर सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकस्थित हेलिपोर्टमा हवाई सुरक्षा सम्बन्धी कारण देखाउँदै आइतबार ४७ जना हेलिकोप्टर पाइलटले संयुक्त रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।

प्राधिकरण स्रोतका अनुसार हेलिकोप्टर पाइलटहरूले हेलिपोर्टको भौगोलिक अवस्थिति, वरपर रहेको बाक्लो बस्ती, पूर्वाधारको पूर्ण तयारी नभएको लगायतका कारण देखाउँदै अहिलेकै अवस्थामा उडान भर्न नसकिने भन्दै प्राधिकरणमा सामूहिक निवदेन दर्ता गराएका हुन् ।

प्राधिकरणका एक अधिकारीले भन्नुभयो, “पछिल्लो १० दिनको कार्य अनुभवका आधारमा पाइटलहरूले तत्काल सुधार गर्नुपर्ने सुझाव सहित प्राधिकरणमा निवेदन दर्ता गराएका छन् ।

निवेदनमा हेलिपोर्टनजिकै ठुला घर रहेको, घना बस्तीको बिचमा उडान अवतरण गर्न समस्या रहेको, हेलिप्याडनजिकै सुरक्षा पर्खाल रहेको लगायतका गुनासा छन् ।”

एक सातादेखि नलिञ्चोकबाट व्यावसायिक उडान सञ्चालन भइरहे पनि त्यहाँ हवाई इन्धनको सुविधा, अग्नि नियन्त्रण सम्बन्धी उपकरण, कार्गो, यात्रु चेकजाँच गर्ने स्क्यानर मेसिन छैन । हाल हेलिकोप्टर कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्किनमा लगेर इन्धन भर्दै आएका छन् ।

प्राधिकरणले भने पोखरा लगायतका विमानस्थलमा समेत हवाई इन्धन डिपो सञ्चालनमा नरहेकाले नेपाल आयल निगमसँगको सहमति अनुसार दैनिक एक ट्याङ्कर इन्धन नलिञ्चोकमा उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ ।

करिब ३३ रोपनी क्षेत्रफलमा बनेको उक्त हेलिपोर्ट आर्थिक वर्ष २०७९/८० को साउन १ गते निर्माण सुरु गरेर गत मङ्सिर २६ गते परीक्षण उडान गरिएको थियो ।

१७ वटा हेलिकोप्टर पार्किङ क्षमताको यस हेलिपोर्टमा एकै पटक चार वटा हेलिकोप्टरले उडान अवतरण गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ नटिकल माइल (तीन मिनेटको हवाई दुरी) टाढा रहेको यो हेलिपोर्टमा स्थायी इन्धन ट्याङ्क, फायर फाइटिङ कक्ष, यात्रु प्रतीक्षालय, टर्मिनल भवन, कन्फेक्सरी सप, हेलिकोप्टर कम्पनीका लागि कार्यालय र हेलिकोप्टर मर्मत सम्भारका लागि ह्याङ्गर र सवारी पार्किङ स्थललगायतका संरचना निर्माण हुन बाँकी छ ।