भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अन्तर्राष्ट्रिय विमानस्थाललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री दाहालले ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे सरोकारवालासँग छलफल गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङका अनुसार छलफलमा प्रधानमन्त्रीले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकामा जोड दिँदै पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारी निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय गौरवका दुवै परियोजना निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले उहाँले निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको परिस्थितिमा ती विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले विमानस्थलहरु सञ्चालनको ठोस प्रस्ताव चाँडो ल्याउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन गर्नुभएको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या रहेकाले यसको उचित समाधान दिनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । वैदेशिक रोजगारीमा जाने यात्रुहरू र अन्य यात्रुहरूलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्नेमा उहाँको जोड छ ।

त्यसका लागि श्रम स्वीकृति, अध्यागमन, मेडिकललगायत सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गरिनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो ।

उहाँले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि हवाइ टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा सहुलियत दिन सकिने धारणा राख्नुभएको छ । निजी क्षेत्रसँग समन्वय गरेर होटललगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गर्नुभएको छ ।