सगरमाथा आरोही शेर्पा सम्मानित

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी अभिनेत्री तथा कोरियोग्राफर छिरिङ शेर्पालाई गोकर्णेश्वर नगरपालिकाले सम्मान गरेको छ ।

गोकर्णेश्वर नगरपालिका ५ निवासी शेर्पाले गत मे १९ मा सर्वोच्च शिखरको सफल आरोहण गरेकी थिइन् । उनले शिखरमा नगरपालिकाको झण्डासमेत फहराएकी थिइन् । शेर्पाले सन् २०१६ मा आयोजित मिस आदिवासी सौन्दर्य प्रतियोगितामा ’मिस एलिगेन्ट’ को उपाधि जितेकी थिइन् ।

दर्जनौं म्युजिक भिडिओ र शेर्पा चलचित्रमा अभिनय गरिसकेकी शेर्पा नेपाल शेर्पा चलचित्र सङ्घकी सस्थापक अध्यक्षसमेत हुन् । सन् २०२३ मा शेर्पाले ५२०० मिटरको उचाइ रहेको सगरमाथाको कालापत्थर क्षेत्रमा नृत्य गरेर ’हाइएस्ट कोरियोग्राफर डान्स अन ल्यान्ड’ विधामा गिनिज बुकमा आफ्नो नामसमेत लेखाएकी छन् ।

आरोही शेर्पालाई एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगपालिकाका मेयर दीपक कुमार रिसाल, वडाध्यक्ष नारायण बहादुर सुवेदीलगायतले सम्मान गरेका हुन् ।