काठमाडौं । नेपालले आज उत्तर कोरियासँग एएफसी महिला एसिया कप छनोट यू–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ ।
समूहको प्रभावशाली टोली उत्तर कोरियासँग भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा नेपालले अपरान्ह पौने २ बजे सामना गर्दैछ ।
समूह ‘ए’ को यो अन्तिम छनोट खेल हो । नेपालले एक जीत र एक बराबरी गरी ४ अंक बटुलेको छ भने समूहको शीर्ष स्थानमा रहेको उत्तर कोरियाले दुवै खेल जितेर ६ अंक बटुलेको छ ।
नेपालले भुटानसँग बुधबार १–१ को बराबरी खेलेको थियो भने शुक्रबार साउदी अर्बलाई १–० ले पराजित गरेको थियो । उत्तर कोरियाले साउदी अरबलाई १५–० र भुटानलाई १०–१ गोलले पराजित गरेर समूहमा शीर्ष स्थान बनाएको छ ।
नेपालकी कप्तान बिर्सना चौधरीले पनि छनोट नै एकमात्र उद्देश्य रहेको बताइकी थिइन् । छनोटमा कुल ८ समूह रहेको छ । प्रत्येक समूह विजेता एसिया कपका लागि छनोट हुनेछ ।
प्रत्येक समूहको दोस्रो स्थानमा रहने टिममध्ये उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ । नेपालको महिला युवा टिमले पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेलेको हो ।






























