नेपाल रिपब्लिक मिडियाको आइपीओ आजबाट बिक्री खुला

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल रिपब्लिक मिडियाले आज आइतबार वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ ।

यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको हो । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन् ।यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आइपीओ जारी गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । योमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले यसमा जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।