काठमाडौँ । पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्क विहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् ।
उहाँहरूले पत्रकार सम्मेलन मार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रुपियाँसम्म लिएर आफूसहित १७ जनालाई नेपालको विमानस्थलबाट मस्को हुँदै विभिन्न ठाउँमा पु(याएर अलपत्र पारेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामी चैत २८ गते शाहीको माध्यमबाट पोर्चुगल जान भनेर नेपालको विमानस्थल हुँदै मस्को गयौँ ।
त्यहाँबाट प्रवास नामका भारतीय नागरिकले हामीलाई विमानस्थलबाट रिसिभ गरेर होटलमा लगियो र मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौँ भनेका थिए तर हामीलाई त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पु(याइयो ।”
आफूसहित १७ जनालाई १० दिनसम्म बेलारुसमा राखेर त्यहाँबाट पाकिस्तानी एजेन्टका साथमा पोर्चुगलका लागि पानी पानी भएको बाटो हुँदै लाट्भिया पु(याइयो र लाट्भिया प्रहरीले मोबाइल समेत नियन्त्रणमा लिएर पुनः बेलारुसमै फिर्ता पठाएको आफूहरू अलपत्र परेको पीडित रोकायले गुनासो गर्नुभयो ।
त्यसपछि पुनः बेलारुसकै होटलमा २० दिनसम्म राखिएको र नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनीबाट डिपोर्ट भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्यान्डतर्फ लगेको उहाँको भनाइ छ ।
पोल्यान्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किंदा त्यहाँको प्रहरीले छ जनालाई नियन्त्रणमा लिएर १५ दिन कारागारमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइ दिएको पीडित रोकायले बताउनुभयो ।
युरोपको सपना देखेर सयकडा ३६ प्रतिशतमा ऋण लिएर विदेशिएका युवा अहिले सडकमा आएका छन् । उनीहरू प्रतिनिधि मात्रै हो । पछिल्लो पटक उनीहरू जस्तै ठगिनेको सङ्ख्या बढेको छ तर सरकारसँग यसका वास्तविक तथ्याङ्क छैन ।
युरोपका नाममा युवा ठगिने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति मार्फत सचेत गराएको छ ।
मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभनमा पारेर ठगी गरेको पाइएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
पछिल्लो समय आकर्षक सेवासुविधाको प्रलोभन देखाई पोर्चुगल, माल्टा, रोमानिया, पोल्यान्डलगायतका युरोपियन देशमा रोजगारी दिने बहानामा लाखौँ रुपियाँ ठगी भइरहेको सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यस प्रकारका ठगीका विषयमा सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जान नेपाल सरकारले खुला गरेको मुलुकमा कानुनतः तीन प्रकारले मात्र जान सकिने भन्दै सोभन्दा अतिरिक्त प्रक्रियाबाट जान खोज्दा हुने जोखिमतर्फ मन्त्रालयले सचेत गराएको छ ।
जीटुजी सम्झौता, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएको इजाजतप्राप्त संस्था र व्यक्तिगत श्रम स्वीकृति लिएर यी मुलुकमा जान सकिन्छ ।
इजाजतप्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलब, सेवा सुविधा, आवश्यक सिप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क र निःशुल्क भिसा र टिकटको प्रावधानबारे संस्थामा आफैँ उपस्थित भएर जानकारी लिन वा वैदेशिक रोजगार विभागबाट यकिन गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।
अनधिकृत व्यक्ति वा संस्थाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा राखेको सूचनामा विश्वास नगर्न भन्दै मन्त्रालयले सूचित गरेको छ ।
ठगी नियन्त्रण गर्न प्रहरी, रोजगार कार्यालय, मन्त्रालयमा खबर गर्नसमेत मन्त्रालयले सरोकारवालासँग आग्रह गरेको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।































