राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागू हुने गरी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजारमा उपलब्ध गराउने

काठमाडौ‌ । राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजारमा उपलब्ध गराउने भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी असार ३ गते आइतबारदेखि पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताए ।

उनले भने, “सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा रु पाँच हजार लाग्ने र राहदानी विभागबाट लिन चाहेमा रु १२ हजार लाग्नेछ ।”

यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा १७ हजार तथा जिल्लाबाट लिन चाहेमा १० हजार लाग्ने समेत प्रवक्त सापकोटाले जानकारी दिए ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ (समय–समयमा विदेश गइरहने) लाई ६६ पृष्ठको राहदानी १० हजारमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।

राहदानी विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ ।

आज पत्राचार गरिएको उक्त परिपत्रमा मन्त्रिपरिषद्को निर्णय अनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र यही असार ३ गते आइतबारदेखि संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।