काठमाडौ । नेपाल वायुसेवा निगमले आगामी २०८० जेठ २९ गते ९ जुन १२० देखि भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको राजधानी क्वालालाम्पुर उडान गर्ने जनाएको छ।
नेपाल वायुसेवा निगमले सातामा एक दिन भैरहवा–क्वालालम्पुर अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी गरेको छ। नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाडौं सिधा उडान गर्ने जानकारी दिएको छ।
निगमको जहाजले क्वालालम्पुर–भैरहवा–काठमाडौं र क्वालालम्पुर –भैरहवा दुई रूटमा उडान गर्ने जनाउदै त्यसको भाडा दर समेत सार्वजनिक गरेको छ। यस उडानको भाडादर अन्य एयरलाइन्स कम्पनीहरूको भन्दा निकै सस्तो रहेको छ।
क्वालालम्पुर–भैरहवा–काठमाडौं उडानको एकतर्फी भाडादर १२ हजार ३ सय ४६ र भैरहवा–क्वालालम्पुरको भाडादर ११ हजार ४ सय ६१ कायम गरिएको निगमले जानकारी दिएको छ। यसका लागि टिकट बुकिङ समेत खुला गरेको छ।
भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहल भएको हो ।
यसै सिलसिलामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य बिभागका निर्देशक टंकनिधी दाहालले हालै मलेसिया भ्रमण गरि मलेसियाका Director of Civil Aviation Authority (CAAM )सँग मलेसियाबाट भैरहवा नियमित उडान सम्वन्धी विविध पक्षहरुमा छलफल गरेका थिए ।
उक्त भ्रमणमा मलेसियास्थित नेपाली दुतावास, ट्राभल्स एजेन्टहरु, त्यहाँ रहेका उद्यमी व्यवसायीहरु र नेपाली समुदायका विशिष्ट व्यक्तिहरुसँग समेत उडानलाई नियमित गर्ने बारेमा छलफल भएको बताइएको छ । सोही छलफल र माग अनुसार निगमले भैरहवाबाट क्वालालम्पुर उडान गर्ने निर्णयमा पुगेको बताइन्छ।
निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तराष्ट्रिय विमास्थल (KLIA) सम्म आवत–जावत गर्न निकट भविष्यमा Shuttle Bus को व्यवस्था गर्दैछ ।
यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं वा भैरहवासम्मको टिकट लिई यात्रा गर्न सक्नेछन । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको जनाएको छ ।