नेपाल मोबाइल व्यवसायी महासंघ बाग्मती प्रदेश कार्यसमिति चयन

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघ बाग्मती प्रदेशको प्रथम भेला २७ सदस्सीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भेलाले मोबाइल एसोसियसन अफ नेपाल मकवानपुरका  पूर्वअध्यक्ष  एसिस रिजालको  नेतृत्वमा २७ सदस्सीय प्रदेश समिति गठन गरेको हो ।

भेलामा बाग्मती प्रदेशका १३ जिल्लाका ७० जना प्रतिनिधि सहभागी थिए भने बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ प्रमुख अतिथि थिए ।

भेला सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मोबाइल विशुद्ध प्रविधिको उपकरण मात्रै नभई मानिसलाई चाहिने अति आवश्यक वस्तुका रूपमा रहेको हुँदा सुरक्षित प्रयोगमा भने ध्यान दिनुपर्ने बताए ।

उनले मोबाइल मानव जीवनको अभिन्न अंगका रूपमा स्थापित भइसकेको र मोबाइलले विश्वलाई नै साँघुरो बनाइदिएको समेत बताए ।

यस्तै, मन्त्री श्रेष्ठले मोबाइल व्यवसायीले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र अवैधानिक रूपमा ल्याइने मोबाइलको नियमन गर्न सरकार तयार रहेकोसमेत स्पष्ट पारे ।

नेपाल मोबाइल व्यवसायी महासंघ बाग्मती प्रदेशका संयोजक छतेन्द्र आचार्यले मोबाइलको प्रयोगलाई सुरक्षित बनाउनेतर्फ व्यवसायी प्रतिबद्ध रहेको भन्दै व्यवसायीका समस्या समाधानमा पनि सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभित प्रसाईं, महासचिव रमेश घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कोषाध्यक्ष कविराज खत्री, महासंघ मधेस प्रदेशका अध्यक्ष मोहन कार्की, गण्डकी प्रदेशका अध्यक्ष उदय केसी, म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईं, सल्लाहकार महेन्द्र राउतलगायत सहभागी थिए ।