काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न अस्पताल प्रशासनका नेतृत्वकर्तालाई निर्देशन दिएका छन्।
आज जेठ १२ गते वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अस्पतालमा अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शैय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शैय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिएका छन्।
मन्त्री बस्नेतले वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शैय्या थपेर सेवा सुधार गर्नुहोस् भन्ने निर्देशन दिएका छन । मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शैय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन पनि अस्पताल प्रशासनलाई निर्देशन दिएका छन।
मन्त्री बस्नेतले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न पनि चेतावनी दिएका छन ।
सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौँ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ” भनी मन्त्री बस्नेतले चेतावनी शैलीमा निर्देशन दिएका छन।
मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा.डा. भुपेन्द्र बहादुर बस्नेत र वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी गराएका थिए। न्याम्सका निमित्त उपकुलपति प्रा।डा। बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन।
विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर आज जेठ १२ गते बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गरेका हुन्।
निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा. संगिता मिश्र र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए ।