काठमाडौं । नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन्।
आफूभन्दा माथिल्ला अधिकारी राजनीतिक रूपमा विभाजित रहेका बेला संगठनको साख जोगाउने गरी काम गर्न सहज भने थिएन।
गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयसमेतको सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा देखाएको साहसको प्रशंसा गरिएको छ।
जसले गर्दा विगत केही वर्षदेखि धुमिलिएको प्रहरी संगठनको छवि सुधार्न र जनमानसमा प्रहरीका अधिकृत कुनै पनि काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह भएको छ।
नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहले गृह मन्त्रालय नै कब्जा गरी नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने सपना देखाएर करोडौं रुपैयाँ असुलेको प्रकरणमा अनुसन्धान गर्ने, अनुसन्धान प्रतिवेदन बनाउने निकाय काठमाडौं प्रहरी परिसर हो।
हाल परिसर प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्की छन्। यो प्रकरणमा सुरुवाती उजुरी लिएर अनुसन्धानमा खटिएको प्रहरीको अर्को निकाय उपत्यका अपराध अनुसन्धान कार्यालय हो।
उपत्यका अपराध अुसन्धान कार्यालयको कमान्ड हाल एसएसपी केसीले समालेका छन्। यी दुई प्रहरी अधिकारी विगतमा कमान्ड समालेका ठाउँमा अब्बल प्रमाणित भइसकेका छन्।
त्यसैको परिणाम उनीहरूले अहिले ‘भ्याली’का महत्वपूर्ण युनिटको कमान्ड पाएका हुन्। आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।