नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताउनुभएको छ ।

उहाँले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उहाँले आर्थिक समृद्धिका निम्ति हामीले नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताउनुभयो । आज पनि हामी खर्बौँको खाद्यवस्तु आयात गरिराखेका छौँ । निर्यातको दृष्टिले हेर्दा नगन्य मात्रामा रहेको उहाँको भनाइ छ ।

मन्त्री किरातीले भन्नुभयो, “हाम्रो उत्पादन हाम्रै बजार भनेर हामी अघि बढ्नुपर्छ । विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्छ ।

ज्ञान, सीप र क्षमता भएका तन्नेरीहरू विदेश जानुपर्ने, विदेशबाट पठाएको पैसाले छोराछोरी र बाबुआमालाई आयात गरेर खाने खाद्यवस्तुले खासमा हामीलाई राष्ट्रवादी ठहराएको छैन ।” राष्ट्रवादी भनेको आफ्नै उत्पादन, आफ्नै बजार, आफ्नै आर्थिक विकास र समृद्धिको बाटो रोज्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली भान्सा घरमा आएर मैले देश देखेँ, देशको उत्पादन देखेँ, देशको समृद्धि देखेँ । सपनाले मानिसलाई डोर्याउँछ, सिर्जनाले मन्छे र समाजलाई सुन्दर बनाउँछ । नेपाली मौलिक भान्साघरमा तपाईँहरूले त्यही बाटो डोर्याउनुभएको रहेछ ।”

मौलिक भान्साघरका सञ्चालक सुमन दाहालले नेपाली भान्साघरमा ८४ थरिका परिकार आफ्नै स्वादमा खान पाइने बताउनुभयो ।

उहाँले हप्ताका सात बार सात प्रदेशका विषेश परिकार, सात पक्षी सात  स्वाद, सातै दिन सांस्कृतिक साँझ भनेर नयाँ ढङ्गले भान्सा घर सञ्चालन गरेको बताउनुभयो । उहाँले बसे पनि सहर, गाउँकै खाने रहर नारालाई मध्यनजर गर्दै आएको जनाउनुभयो ।

त्यसैगरी डिजफर नेपलालका अशोक काफ्लेले बाझो जग्गामा उत्पादन गर्न सरकारले सम्बन्धित जग्गाधनीसँग सहजीकरण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । देशका अग्र्यानिक उत्पादनलाई बढाउनुपर्ने र बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।