नेपाल वायुसेवा निगमको पुनस्संरचना गरिने

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनःसंरचना गर्ने भएको छ । हिजो जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा वायु सेवा निगमको पुनःसंरचना गरिने उल्लेख गरेका छन्।

आर्थिकरुपमा निकै कमजोर बनेको वायुसेवा निगमलाई व्यावसायिकरुपमा सबल बनाउदैँ बजार हिस्सा बढाउन सरकारले आवश्यक तयारी गरिहेको छ ।

आन्तरिक उडानलाई प्रभावकारी बनाउन थप जहाज खरिद गरेर गन्तव्य विस्तार गर्ने निगमको योजना छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज रहेका छन् । आन्तरिकमा हाल दुई थान ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।

राष्ट्रपति पौडेलले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए। उनले हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्नुका साथै निर्माण भएका अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानास्थल पूर्णक्षमतामा सञ्चालन गर्ने नीति सरकारको रहेको उल्लेख गरेका छन्।

यस्तै सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । सरकारको नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको छ ।

राष्ट्रपति पौडेलले मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गरिने बताएका छन ।

नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।

राष्ट्रपति पौडेलले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने पनि बताएका छन ।

एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पाँच महिनादेखि सञ्चालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो विजनेश पाउन सकेका छैनन् ।

गौतमबुद्ध विमानस्थलमा आगामी जेठ २९ देखि नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा–काठमाडौँ नियमित उडान गर्दैछ ।

कुवेतको जजीरा एयरले विगत एक वर्षदेखि यो विमानस्थलमा उडान गरिरहे पनि विभिन्न समस्या देखाउँदै उडान स्थगन गर्दै आएको छ । पछिल्लो पटक एक महिनादेखि जजीराले उडान स्थगित गरेको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उदघाटन भएको थियो । यो विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

पोखरा विमानस्थलबाट छिट्टै चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।