काठमाडौंमा बिहान बदली, साँझ मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंसहित देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् समिर श्रेष्ठ बताउँछन् ।

कोसी,  वाग्मती, गण्डकी र  कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा आज बिहान बदली रहेको छ । साँझ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । “काठमाडौंमा साँझपख मेघजर्नसहित सामान्य वर्षाको सम्भावना रहेको छ,” श्रेष्ठले भने ।

आज राति कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।