कांग्रेसका ४ पूर्वगृहमन्त्रीहरु, जो अछुतो रहेनन् भ्रष्टाचारबाट

काठमाडौं । कांग्रेस प्रजातान्त्रिक आन्दोलनका लागि पुरानो पार्टी हो । कांग्रेसले जहानीया राणा शासनदेखि राजतन्त्रविरुद्धको आन्दोलनको सामना गरिसकेको छ ।

कांग्रेसबाट धेरै व्यक्तिहरु प्रधानमन्त्री, मन्त्रीहरु बने । मुलुक चलाउने तहमा पुगेका कांंग्रेसका नेताहरु गृहमन्त्री बनेपछि भने राम्रो रेकर्ड बनाउन सकेका छैनन् । कुनै न कुनै गम्भीर आरोप खेपेका कांग्रेसका गृहमन्त्रीहरुको लिस्ट लामै छ ।

विपी कोइरालादेखि शेरबहादुर देउवासम्म आइपुग्दा कांग्रेसले धेरै राजनीतिज्ञ जन्मायो । नेताहरु राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बनिसकेका छन् ।

विपीले कल्पना गरेको समाजवाद र आजको मुलुक कुन अवस्थामा पुग्यो त्यो फरक कुरा हो । यद्दपी, नेपाललाई प्रजातान्त्रिक धारमा ल्याउन कांग्रेसले ठूलो बलिदानी गरेको छ । तर, के कांग्रेसले आफ्नो विगतको साख जोगायो त ?

यो अहम प्रश्न हो । कांग्रेसबाट सरकारमा पुगेका केहि मन्त्रीहरु भ्रष्टाचार जस्तो गम्भीर अपराधमा समेत मुछिए । ती मध्ये पनि गृहमन्त्री बनेका केहि नेताहरु भने राजनीतिक जीवनको उत्तरार्धमा आएर बदनामी कमाउन पुगेका छन् ।

ती मध्ये गृहमन्त्री बनेर विभिन्न आरोपमा सजाय भोग्ने देखि आरोप लाग्ने नेताहरु को–को छन त ?

खुमबहादुर खड्का

कांग्रेसमा बलियो प्रभाव राख्ने खुमबहादुर खड्काको निधन भइसकेको छ । तर, उनी गृहमन्त्री बनेका व्यक्ति हुन् । गृहमन्त्री बनेका खड्काले भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भइ कैद सजाय नै भुक्तान गरे । जेलबाट निस्किएपछि सक्रिय राजनीति गर्न तम्सिएका उनलाई पत्यारिलो आधार बन्न सकेन् ।
विश्व हिन्दु महासंघ लगायत फोरमबाट केहि समय सक्रिय रहेका उनी बद्नामी कमाएरै अस्ताए ।

विजयकुमार गच्छदार

कांग्रेसबाट राजनीति थालेका गच्छदार मुलुकको गृहमन्त्री बने । गृहमन्त्री बनेपनि उनको राजनीति भने स्थिर बन्न सकेन् । मधेसमा भएको आन्दोलन र उदाएका दलको अवस्था देखेपछि कांग्रेसबाट मधेस केन्द्रित दलमा सक्रिय रहेका उनी कुनै बेला आफू प्रधानमन्त्री बन्ने दाबी समेत गर्थे ।

मधेसमा जनमत पाएर राज्य शक्तिमा पुगेका उनीविरुद्द पनि बालुवाटार जग्गा प्रकरणमा मुद्दा छ । गच्छदार  ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि सक्रिय राजनीतिबाट टाढा हुँदै गएका छन् ।

गच्छदारविरुद्ध झण्डै ९ करोड ६६ लाख बराबरको बिगो दाबी गरिएको छ।

गोविन्दराज जोशी

गोविन्दराज जोशी पछिल्लो समय स्वतन्त्र बनेका छन् । चुनावमा अन्तरघात गरेको आरोपपछि तनहुँमै केन्द्रित रहेका उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको थियो ।

उनले अदालतबाट सफाई त पाए । तर, भ्रष्टाचार आरोपपछि उनको राजनीतिक जीवनमा धक्का लाग्न पुगेको छ ।

गएको उपचुनावअघि कांग्रेसले जोशीमाथि गरिएको कारबाही फुकुवा गरेको घोषणा गरेपनि उनले कांग्रेसका उम्मेदवारलाई नसघाएर कारबाही फुकुवामाथि नै प्रश्न उठाएपछि उनी अब के गर्छन भन्ने अन्यौलता अझैं कायमै छ ।

बालकृष्ण खाँण

कांग्रेस सभापति शेरबहादुर देउवाको निकट मानिने बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा प्रहरी थुनामा छन् । रुपन्देही ३ बाट गएको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग पराजित भएका खाँण कांग्रेसमा राम्रो प्रभाव राख्ने नेतामा पर्छन् ।

उनले आफ्नी पत्नी मञ्जु खाँणलाई समानुपातिकतर्फबाट सांसद समेत बनाएका छन् । तर, गृहमन्त्री हुँदा नक्कली शरणार्थी प्रकरणमा लेनदेनदेखि अन्य प्रकरणमा मुछिइको आरोपमा उनी अहिले प्रहरी थुनामा छन् ।

यसरी हेर्दा कांग्रेसबाट गृहमन्त्री बनेका नेताहरुमाथि एकपछि अर्को गर्दै भ्रष्टाचारको आरोप लाग्नेको लिस्ट लामै छ ।

कांग्रेसले प्रजातन्त्रका लागि पु-याएको योगदान र नेताहरुमाथि लागेको आरोपले राजनीतिक नैतिकतामाथि नै गम्भीर प्रश्न उठेको छ ।