काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज हुने सम्भावना रहेको छ । केन्द्रीय बैंकले आज बिहान बोर्ड बैठक राखेको छ ।
बैठकमा कुनै लफडा नभए आजै नीतिको समीक्षा सार्वजनिक गरिनेछ । यद्यपि, केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा सार्वजनिक गर्नका लागि औपचारिक जानकारी भने गराइसकेको छैन ।
बोर्ड बैठक सकिएपछि सार्वजनिक हुने सम्भावना छ । नीतिको तेस्रो त्रैमासिक समीक्षा वैशाखभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ ।तेस्रो त्रैमासिक समीक्षा भएकाले ठूला नीतिगत परिमार्जनको सम्भावना भने कम छ किन भने अबको २ महिनापछि (साउन पहिलो साता) नै नयाँ आर्थिक वर्षको मौद्रिक नीति आउनेछ ।
तथापि, बैंकमा निक्षेप थपिंदै गएको तर कर्जा प्रवाह हुन नसकेको अवस्था छ । चर्को ब्याजदरका कारण कर्जा प्रवाह ठप्पप्रायः भएको हो । यसलाई ध्यान दिंदै केही लचक व्यवस्था हुन सक्ने केन्द्रीय बैंकका अधिकारीहरुको भनाई छ ।
यस्तै, सेयर धितो कर्जा र घर जग्गा व्यवसायलाई पनि केही राहत पुग्ने गरी कुनै नीतिगत व्यवस्था गर्ने सम्बन्धमा केन्द्रीय बैंको व्यवस्थापन तहमा छलफल भएको स्रोतले बताएको छ । यद्यपि, बोर्ड बैठकबाट के कस्ता एजेन्डा पारित हुन्छ त्यो भने खुल्न बाँकी नै छ ।
यसअघि नीतिहरुमा कडाई गरिएको थियो तर अब अर्थतन्त्रका बाह्य क्षेत्रहरु सहज बन्दै गएकाले क्रमशः ललिचो मौद्रिक नीति अवलम्बन गर्दै अघि बढ्ने केन्द्रीय बैंकले संकेत गरेको छ ।
सरकार र अर्थमन्त्रीले पनि लचिलो नीति लिन केन्द्रीय बैंकलाई दबाब दिंदै आएका छन् । गभर्नरले यसमा पनि केही ध्यान दिने सम्भावना रहेको स्रोतको भनाई छ ।