काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रलायक संस्था एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् ।
एनसेलको सञ्चालक समितिको वैशाख २६ बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो ।
उनले वैशाख २७ बाट आफ्नो कार्यभार सम्हालेका एनसेलले जनाएको छ । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर’का रुपमा कार्यभार सम्हाल्नेछन् ।
जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्था अन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।
उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ । एनसेलमा आवद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए ।