काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार आज पनि लिइँदैछ।
उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो। पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको हो।
प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिइसकेको थिएन। प्रहरीले खाणलाई पक्राउ गर्दा मोबाइल बरामद गरेको थियो। मोबाइल बरामद गर्नुअघि खाणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका थिए।
त्यसपछि प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो। बयान लिन अगावै खाणले सरकारी वकिल प्रमुख न्यौपानेलाई आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको जानकारी गराएका थिए।
खाणँलाई गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो।
उनीहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँदैछ। बुधबार उनीहरूलाई पुनः अदालतमा उपस्थित गराएर म्याद थप गराउनुपर्ने हुन्छ।
उनीहरूमाथि प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको हो। जसअनुसार ६० दिनभित्रमा मुद्दा बुझाइसक्नुपर्छ।