काठमाडौँ । नेपालमा कुल बजेटभन्दा ठुलो रकम विदेशबाट प्राप्त आम्दानीको भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटभन्दा सोही आर्थिक वर्षमा प्राप्त भएको विप्रेषण (रेमिट्यान्स) को रकम करिब चार खर्ब रुपियाँले बढी भएको हो ।
नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको गत आर्थिक वर्ष २०८२/८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार सो आवमा कुल २३ खर्ब ६३ अर्ब १३ करोड रुपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
जबकि २०८२ जेठ १५ गते तत्कालीन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको थियो । यस आधारमा बजेटभन्दा तीन खर्ब ९९ अर्ब दुई करोड रुपियाँ बढी रेमिट्यान्स प्राप्त भएको हो ।
प्रतिवेदन अुनसार अघिल्लो आवमा भन्दा उक्त आर्थिक वर्षमा ३७.१ प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएकामा यस वर्ष दोब्बर प्रतिशत विन्दुले बढेको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार असार २०८३ मा मात्र दुई खर्ब ४२ अर्ब ३३ करोड रुपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष सोही महिना रेमिट्यान्स एक खर्ब ८९ अर्ब ११ करोड रुपियाँ भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशत बढेर १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशत बढेको थियो । अमेरिकी डलरसँग नेपाली रुपियाँको विनिमय दर उच्च रहेकाले नेपाली रुपियाँमा विप्रेषण उच्च भएको हो ।
महँगी उच्च
नेपाल राष्ट्र बैङ्कका अनुसार एक वर्षमा मुद्रास्फीति झन्डै दोब्बर भएको छ । २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० रहेकामा २०८३ असारमा त्यस्तो मुद्रास्फीति ५.१४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने घटेको छ । अघिल्लो आव यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत रहेकामा २०८२/८३ भने ३.०८ प्रतिशत रहेको छ ।
अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको मूल्यवृद्धि १०.०५ प्रतिशत, फलफूलकोे ७.०९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ३.२८ प्रतिशत रहेको छ ।
त्यस्तै तरकारी उपसमूहको मूल्य सूचकाङ्क ३.९५ प्रतिशत, मरमसलाको ३.६६ प्रतिशत र दाल तथा गेडागुडीको ३.४१ प्रतिशतले ऋणात्मक रहेको छ ।
निर्यात १३.८ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भई ३१५ अर्ब २९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको थियो । भारत र अन्य मुलुकतर्फको निर्यात क्रमश: १५.१ प्रतिशत र १०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २८.० प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैँची, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ । यसका विपरीत जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, उनी, गलैँचा, हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई २० खर्ब ९६ अर्ब ३८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १३.३ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १३.० प्रतिशत, २४.७ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टरस, रासायनिक मल, अन्य मेसिनरी तथा पार्टरसलगायतका वस्तुको आयात बढेको छ भने खानेतेल, हट रोल्ड सिट इन क्वाइल, लसुन, अलकत्रा, एमएसबिलेटलगायतका वस्तुको आयात घटेको छ ।
निर्यात आयात व्यापार घाटा
आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु व्यापार घाटा १६.६ प्रतिशतले वृद्धि भई १७ खर्ब ८१ अर्ब नौ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा ६.० प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा वर्षमा निर्यातआयात अनुपात १५.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १५.४ प्रतिशत रहेको थियो ।































