सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ ।

जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रिया लगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

सुर्खेतमा संचालन हुने यस शिविरबाट करिब ५० जना जलन पीडितहरु लाभान्वित हुने बैंकको अपेक्षा छ । जटिल समस्या भएर शिविरमा आएका बिरामीलाई काठमाडौँको किर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको निःशुल्क जलन शिविर लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि सञ्चालन गर्ने बैंकले जनाएको छ ।

यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए।

जसमध्ये २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो ।

शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसंग जोडिएकोे (Post Burn Contra cture)हातका औँलाहरु टाँसिएको अवस्था भएकाहरुले निःशुल्क उपचार पाउनेछन् । साथै जन्मदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मदै औंला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएका मानिसहरुले पनि सरसल्लाह लिन सक्ने बैंकले जनाएको छ ।

जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ । नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो ।

नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ ।

नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।