अमेरिकामा ओशन सिटी ‘ओसन सिटी रिसोर्ट शो’–बि टु बि मिटिङ) आयोजना गर्ने

काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला व्यवसायको अन्तराष्ट्रिय जगतमा प्रवर्द्वन गर्न आगामी सन २०२४ को नोभेम्वर १३ देखि १५ तारिखसम्म अमेरिकाको ओसन सिटीमा ‘ओसन सिटी रिसोर्ट शो’–बि टु बि मिटिङ) आयोजना गर्ने भएको छ।

यसैगरि सन २०२४ को नोभेम्वर २२ देखि २४ तारेखसम्म अमेरिकाको मोन्टगोमेरी काउन्टी कृषि मेला मैदान, गैर्सवर्ग मेरील्याण्डमा ‘हिमालयन क्रिशमस एक्स्प्रो २०२४’ उपभोक्ता मेला आयोजना गर्ने भएको छ।

यी दुई ओसन सिटी रिसोर्ट शो बि टु बि मिटिङ र हिमालयन क्रिशमस एक्स्प्रो २०२४’ कार्यक्रममा सहभागी हुन इच्छुक महासंघका सदस्य फर्म कम्पनीहरूले असार ७ गतेभित्र निवेदन दिएका छन।

मेलामा सहभागी हुन निवेदन दिएकाहरूले निवेदनका साथमा आफ्नो फर्म वा कम्पनीको दर्ता प्रमाणपत्र र नविकरणको प्रतिलिपी, पान,भ्याट दर्ता र कर चुक्ताको प्रतिलिपी,मेलामा सहभागी हुने व्याक्तिको राहदानीको रंगिन प्रतिलिपी,फोन नं,इमेल, बायोडाटा र कम्पनीको प्रोफाइल महासंघमा पेश गरेको महासंघका उपाध्यक्ष तथा वाणिज्य परिषदका सभापति दिल्ली रत्न तुलाधरले जानकारी दिएका छन।

महासंघ स्रोतका अनुसार ओसन सिटी रिसोर्ट शो (बि टु बि मिटिङ) मा सहभागी हुन आगामी कार्तिक २८ देखि ३० गते अमेरिकाको ओसन सिटीमा जानुपर्ने र त्यो शोमा ३ह२ वर्गमिटरको स्टल राख्न पाउने छन।

त्यहाँ टेवल एक,कुर्सी दुई र प्लग पोइन्ट एक राख्न पाइने छ। यो मेला बि टु बि रहेकाले सामान बिक्री गर्न पाइने छैन। आवेदन शुल्क फिर्ता नहुने गरि १० हजार तोकिएको छ। स्टल भाडा २ हजार २ सय ५० अमेरिकी डलर तोकिएको छ।

बि टु बि मिटिङमा आवश्यकता भन्दा कम सहभागी भएमा तोकिएको स्टल भाडा बढन सक्ने बताइएको छ। महासंघले मेलामा सहभागी हुन एक लाख रूपैयाँ धरौटी राख्ने छ।

धरौटी रकम मेला समापन भएर नेपाल फर्किएपछि फिर्ता दिने महासंघले जनाएको छ। अमेरिकाको मल्टिपल भिसा हुने सदस्यहरूका लागि यो धरौटी रकम आवश्यक नपर्ने महासंघले जनाएको छ।

यसैगरि महासंघले ‘हिमालन क्रिशमस एक्स्सो २०२४’ मा सहभागी हुन आगामी मंसिर ७ देखि ९ गते अमेरिकाको मोन्टगोमेरी काउन्टी कृषि मेला मैदान,गैर्सवर्ग मेरील्याण्डमामा जानुपर्ने र ३/२ वर्गमिटरको स्टल राख्न पाउने छन। त्यहाँ टेवल एक,कुर्सी दुई र प्लग पोइन्ट एक राख्न पाइने छ। यो मेला क्यास एण्ड क्यारी रहेकाले सामान बिक्री गर्न पाइने छ।

यसमा सहभागी हुन आवेदन शुल्क फिर्ता नहुने गरि १० हजार तोकिएको छ। स्टल भाडा भ्याट सहित १ लाख ८ हजार ४ सय ८० रूपैयाँ तोकिएको छ।

महासंघले यो मेलामा सहभागी हुन एक लाख रूपैयाँ धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ। धरौटी रकम मेला समापन भएर नेपाल फर्किएपछि फिर्ता दिने भएको छ।

अमेरिकाको मल्टिपल भिसा हुने सदस्यहरूका लागि यो धरौटी रकम आवश्यक नपर्ने महासंघले जनाएको छ। अमेरिकाको पुर्ववत भिसा भएका सदस्यहरूलाई मेलामा सहभागिताका लागि प्राथमिकता प्रदान गरिने भएको छ।

यी दुबै मेलामा सहभागी हुन आवश्यक पर्ने हवाई भाडा,होटलको लजिङ( फुडिङ,भिसा खर्च,बीमा खर्च र अन्य व्याक्तिगत खर्च सहभागी स्वयमले व्यहोर्नुपर्ने महासंघका उपाध्यक्ष तथा वाणिज्य परिषदका सभापति दिल्ली रत्न तुलाधरले जानकारी दिएका छन।

यसैगरि ओसन सिटी रिसोर्ट शो को बि टु बि मिटिङ मा सहभागी सदस्यहरूले हिमालयन क्रिशमस एक्स्पो २०२४ मा सहभागी हुँदा स्थानान्तरण खर्च,यी दुई मेला बीचको अवधिमा लाग्ने होटलको लजिङ–फुडिङ खर्च,भ्रमण खर्च र अन्य व्याक्तिगत खर्च आफैले व्यहोर्नुपर्ने महासंघले जनाएको छ।

यो एक्स्पो नेपाल हस्तकला महासंघ र हाउस अफ राजकर्णिकार एक्जिबिसन एण्ड इभेन्टको सम्झौता अनुसार हुनेछ। यो एक्स्पोको भिसा प्राप्तिमा महासंघको कुनै भूमिका हुँदैन।

भिसा प्राप्त नभएको प्रमाण पेश गरे महासंघले धरौटी रकम फिर्ता गर्नेछ। सहभागिहरू नेपाल फर्किएको प्रमाण पेश गरेपछि धरौटी रकम फिर्ता गरिने नेपाल हस्तकला महासंघका उपाध्यक्ष तथा वाणिज्य परिषदका सभापति दिल्ली रत्न तुलाधरले जानकारी दिएका छन।