करिब १ वर्षमा ७५ हजार ई–सिम वितरण, प्रयोगकर्ता बढ्दै

काठमाडौं । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या ७५ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म ७५ हजारभन्दा बढी ई–सिम वितरण भइसकेको जानकारी दिएका छन् ।

उनले भने, ‘हामिले हाजसम्म ७५ हजार ई–सिम वितरण गरिसकेका छौँ । जसमा ४५ हजार आम प्रयोगकर्ता छन् भने ३० हजार नेपाल विद्युत प्राधिरणले स्मार्ट मिटरको लागि लिएको छ ।’ अधिकारीले ई–सिमको प्रयोगकर्ता पहिलाको तुलनामा बढेको बताए ।

उनले थपे, ‘हामिले सुरुमा महिनामा करिब ३ हजारबेचिरहेका थियौँ भने अहिले महिनाको ५ हजार ई–सिम बेचिरहेका छौँ भने भौतिक सिम हामीले महिनाको करिब २ देखि साढे २ लाख बिक्री गरिरहेका छौँ ।’

नयाँ टेक्नोलोजि विस्तार भएसँगै विस्तारै ई–सिमको मागपनि बढ्दै गएको उनले बताए । ई–सिमबाट फोन गर्ने र डाटा चलाउने लगायत विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

इ–सिम भनेको एक इम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इ–सिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।

के फरक छ इ–सिम र भौतिक सिममा ?

इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । इ–सिमलाई मदरबोर्ड सँगै जोडिएको हुन्छ । यसलाई भौतिक सिम जस्तो झिक्न र राख्न मिल्दैन । तर, यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।

यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । डिजिटल सिम पनि भन्ने गरिएको यो प्रविधिको प्रयोग गरी भौतिक सिमकार्ड बिना नै दूरसञ्चार कम्पनीका ग्राहकहरुले फोन कल, डेटा, मेसेजको सुविधा उपभोग गर्न सक्छन् । जसका लागि इ–सिम सुविधा भएको फोन भने उपभोक्ताले बोक्नुपर्ने हुन्छ ।

कुन सेटले सपोर्ट गर्छन् इ–सिम ?

सामसङ, एप्पल, गुगल, हुवावे, मोटोरोला, ओप्पो, सोनी, अनरलगायतका कम्पनीले उत्पादन गरेका फोनमा इ–सिमको फिचर उपलब्ध छ । सामसङको ग्यालेक्सी फोल्ड, जी फोल्ड, जी फ्लिप, ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१. फाइभजी, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी नोट २० अल्ट्रा फाइभजी, ग्यालेक्सी नोट २० सहितका स्मार्टफोनमा इ सिम फिचर रहेको कम्पनीले जनाएको छ।

यस्तै, एप्पलको आइफोन ११, आइफोन एसइ ९२०२००, आइफोन १२, आइफोन १३, आइफोन १४ का मोडलहरुमा इ सिमको सुविधा रहेको कम्पनीले जनाएको छ ।

एप्पलले उत्पादन गर्ने आइप्याड प्रो (२०१८ पछिका), आइपड, आइपड एयरसहित एप्पलको वाच सिरिज ३, ४, ५, ६ र वाच एसइले इ सिम सपोर्ट गर्छ ।

हुवावेको पी ४०, पी ४० प्रो र मेट ४० प्रोमा इ–सिम उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोटोरोलाको आरएजेडआर २०१९ र आरएजेडआर फाइभजीमा इ–सिम उपलब्ध छ ।

त्यसैगरी, ओप्पोको फाइन्ड एक्स थ्री प्रो, रेनो फाइभ ए, रेनो सिक्स प्रो फाइभजी, फाइन्ड एक्स फाइभ, एक्स फाइभ प्रो र ए ५५ एस सेटले इ–सिम सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।