काठमाडौँ । वैदेशिक शिक्षाका लागि एक लाख नौ हजार ८३६ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यतिका एनओसी जारी भएको हो । यो सङ्ख्या हालसम्मकै धेरै हो ।
वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्षमा उच्च शिक्षाका लागि ७१ वटा मुलुकमा नेपाली विद्यार्थीले एनओसी लिएका थिए । गत वर्ष एनओसीका लागि निवेदन दिएका मध्ये १२ हजार १७५ वटा निवेदन रद्द भएका थिए ।
यस अवधिमा अस्ट्रेलियाका लागि ३३ हजार ९६८, जापानका लागि २१ हजार ६५४, क्यानडाका लागि २१ हजार ४२५, अमेरिकाका लागि तीन हजार ९०१, भारतका लागि दुई हजार १८४, फ्रान्सका लागि एक हजार २६९, डेनमार्कका लागि एक हजार ८४ र युनाइटेड अरब इमिरेट्सका लागि दुई हजार ३८१ वटा एनओसी जारी भएका थिए । स्विट्जरल्यान्ड, बेलारुस, ब्रुनाइ, आइसल्यान्ड लगायतका मुलुकका लागि एक वर्षभरिमा एकरएकवटा मात्रै एनओसी जारी भएको छ ।
एनओसी जारी गरेबापत शाखाले २५ करोड ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । शाखाका प्रमुख वासुदेव वस्तीले प्रतिएनओसीका लागि दुई हजार रुपियाँ राजस्व लिने गरिएको जानकारी दिनुभयो ।
गत जेठ १ गतेदेखि एनओसी वितरणको कामलाई पूर्ण रूपमा अनलाइनमा लगिएको छ । शाखाले २०७७ साल भदौ १२ गतेदेखि आंशिक रूपमा अनलाइन सेवा सुरु गरेको थियो ।
सेवा प्रवाहलाई अझ सरल, सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका जारी गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।