नेपाल वायूसेवा निगमले वर्ष दिनमा ३ अर्ब ७७ करोड कर्जा तिर्यो

काठमाण्डौ‌ । राष्ट्रिय ध्वजावाहक नेपाल वायूसेवा निगमले गत आर्थिक वर्ष २०७९/८० मा साँवा र ब्याज समेत जम्मा ३ अर्ब ७७ करोड रुपैयाँ कर्जा भुक्तानी गरेको छ।

निगमले असार महिनामा कर्जाको किस्तावापत नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई समेत गरी कूल ८३ करोड लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

यसअघि गत आवको तेस्रो त्रैमाससम्म निगमले २ अर्ब ९४ करोड २८ लाख ६४ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमले दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागी दुबै कोषसँग कर्जा लिएकोमा लामो समयदेखि  साँवा र ब्याज  भुक्तानी गर्न बन्द गरेकोमा गत आवदेखि चुक्तालाई निरन्तरता दिएको हो । निगमले साँवा र ब्याज भुक्तानी नगर्दा दुबै कोषले असुलउपर गर्नुपर्ने ब्याजलाई समेत पूँजीकरण गरेका थिए।

निगमले आन्तरिक उडान भर्ने ३ वटा साना जहाज समेत आफ्नै आन्तरिक स्रोतबाट किन्ने प्रक्रिया पुनः शुरु गरेको छ ।