कुवेत जान लागेका श्रमिक फर्काइए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले दुई दिनको बिचमा कुवेत जान लागेका ११९ श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।

भिसा शङ्कास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार र बिहीबार त्यो सङ्ख्याका श्रमिकलाई विमानस्थलबाट फर्काइएको हो । सो अध्यागमन कार्यालयका अनुसार बुधबार साँझ सलाम एयर मार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयर मार्फत कुवेतमा जान लगेका १८ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको छ ।

विभिन्न वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी मार्फत विभिन्न रोजगारीमा जाने भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए तर अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रूपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला रहेको विमानस्थल अध्यागमन कार्यालयले जनाइएको छ ।

सो कार्यालयका सूचना अधिकारी झङ्कनाथ ढकालले कुवेत हिँडेका श्रमिकका कागजात शङ्कास्पद भेटिएकाले तत्काल फकाइएको जानकारी दिनुभयो ।

घरेलु श्रमिकका रूपमा नेपालबाट कुवेतमा जान मिल्दैन तर फरक फरक भिसाका कागजात बनाएर म्यानपावर कम्पनीले लागेको आशङ्कामा उनीहरूलाई प्रस्थान अनुमति रोकिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश श्रमिकले हामीलाई नै भिसाबारे अनुसन्धान गरिदिन आग्रह गर्नुभएको छ ।

पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेको सङ्ख्या बढेपछि सोधपुछ बढाइएको अध्यागमनले जनाएको छ । अध्यागमन कार्यालयका अनुसार त्यही क्रममा बुधबार कुवेत जान हिँडेकासँग अनौपचारिक रूपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको छ ।

थप अनुसन्धान गरेर सम्बन्धित निकाय ९वैदेशिक रोजगार विभाग० मा सम्बन्धित म्यानपावरलाई कारबाहीका लागि पठाइसकेको पनि अध्यागमन कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घले भने अध्यागमन कार्यालयको कदमको विरोध गरेको छ । सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिँडिसकेका श्रमिकलाई बिनाकारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताउनुहुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।