उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र दराजबीच समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ ।

उक्त समझदारीमा परिसंघका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका हुन् ।मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको अभियान हो ।

यसको स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्य रहेको छ ।परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ ।

सीएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, कामदारहरूको सीप अभिवृद्धि गर्ने जस्ता काम गर्दै आएको छ ।

स्वदेशी सदस्यहरूको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको हो । यस समझदारीअनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरुले आफ्ना वस्तुहरु यस सेक्सनमा राख्न पाउनेछन् ।

साथै, दराजले स्वदेशीको प्रवर्द्धन गर्ने अन्य उपाय तथा सुविधाहरु दिनेछ । यो समझदारीअनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको वस्तु दराजको प्लाटर्फममा राख्न तथा खरिद बिक्री गर्न दराजले स्वदेशी सदस्यहरुलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउनेछ ।

मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरूलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

स्वदेशी अभियानको उद्देश्य प्राप्तिका लागि नीतिगत वकालतसँगै अन्य थप प्रवर्द्धनात्मक कार्यलाई अगाडि बढाइने उनले बताए । स्वदेशी वस्तुहरुलाई प्रोत्साहन, प्रवर्द्धन गर्न स्वदेशी सदस्यको वस्तुलाई  आफ्नो अनलाइन प्लाटफर्म उपलब्ध गराइएको दराजकी प्रबन्ध निर्देशक कुँवरले बताइन् ।

यो समझदारीले स्वदेशी सदस्यहरुलाई आफ्नो उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने विश्वास परिसंघ राष्ट्रिय परिषद् सदस्य हितेश गोल्छाले व्यक्त गरे ।