काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) का महासचिव दीपकराज भुसालले अर्को कार्यकालका लागि महासचिवमा उम्मेदवारी घोषणा गरेका छन्।
असार ३० गते हुने निर्वाचनमा उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘निरन्तर सक्रिय, सदैव पारदर्शी, खारिएको अनुभव र सुदृढ ईक्यान’ उनको नारा छ ।
प्राप्त उपलब्धि संरक्षण गरी व्यवसायमाथिको आक्रमणलाई निस्तेज पार्न संस्थालाई अझ बढी प्रभावकारी र सुदृढ गर्नु पर्नेु भएकोले आफूले महासचिवको तयारी गरेको उनले बताए ।
सदस्य, सचिव र महासचिवको जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरेको अनुभवलाई शैक्षिक परामर्श व्यवसायीका हक हितका निम्ति उपयोग गर्नेु पनि उनले प्रतिवद्धता जनाएका छन् ।
कोभिडकालमा गर्न नपाएका केही कामलाई संस्थागत गर्न पनि आफूले चाहेको भुसालले बताए ।
‘करिब ३५ वर्षदेखि नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकास क्रम रहे पनि हालसम्म पनि हाम्रो व्यवसाय नीतिगत रुपमा संक्रमणकालीन अवस्था र अत्यन्त विषम परिस्थिति बाट गुज्रिरहेको छ।
निर्देशिका आंशिक रुपमा सच्चिएको अवस्था छ तर शिक्षा मन्त्रालयले ल्याउँदै गरेको नियमावलीमा हाम्रो क्षेत्रलाई गम्भीर असर पार्ने नीतिबिरुद्द संघर्ष गर्दै यस क्षेत्रलाई अझ सुरक्षित तथा मर्यादित बनाउनु पर्ने चुनौती पनि विद्यमान छ।’ भुसालले भने ।
असार ३० गते हुने चुनावमा शेषराज भट्टराई र विष्णुहरि पाण्डे अध्यक्षको प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर उनीहरूले अझै घोषणा गरेका छैनन् ।































