काठमाडौं । भन्सार एजेन्टका प्रतिनिधिहरु विगत तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन्। सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरु हटाएपछि भन्सार एजेन्टका प्रतिनिधिहरु आन्दोलनमा उत्रिदै आएका हुन।
गत असार १० गते आइतबारदेखि भन्सार विभाग त्रिपुरेश्वरमा उनीहरुले धर्ना दिदै आएका छन्। भन्सार एजेन्ट प्रतिनिधि संघ संघर्ष समितिका संयोजक खड्गबहादुर कार्कीले भन्सार विभाग र अर्थ मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण र ज्ञापनपत्र बुझाएपछि पनि कुनै सुनुवाइ नभएकोले बाध्य भई आन्दोलन गर्नु परेको बताएका छन ।
सरकारको निर्णयले दुई दशकभन्दा बढी समयदेखि विभिन्न भन्सार कार्यालयहरुमा भन्सार एजेन्टको प्रतिनिधिको रुपमा काम गरिरहेका ३०० जनाभन्दा बढी प्रतिनिधिहरूको रोजगार गुमेको उनले दाबी गरेका छन।
कार्कीले भने, सालव साली रुपमा आउने आर्थिक ऐन र नियमावलीले विभिन्न ऐनहरुलाई संशोधन गर्ने क्रममा भन्सार ऐन २०६४ को दफा ५१ (१) को व्यवस्थामा प्रतिनिधि शब्द हटाईएको र भन्सार नियमावली २०६४ नियम ३७ को (९,१०,१२,१३ र १६) हटाईएको हुनाले हामी प्रतिनिधिहरुले भन्सार ऐन तथा नियमावली बमोजिम भन्सार महशुल तथा अन्य महशुल समेत संकलनको लागि राज्यलाई कुनै व्ययभार नपर्ने गरी गर्दै आएको रोजगारी पेशा हाल आएर गुमेको अवस्था रहेको छ।
यसअघि पनि हामीले सो परिवर्तित भन्सार ऐनको दफा ५१ (१) र भन्सार नियमावली २०६४ नियम ३७ को (९,१०,१२,१३ र १६) को बारेमा ज्ञापन पत्र बुझाईसकेका थियौं।
तर, उक्त ज्ञापन पत्रको बारेमा सरोकारवाला पक्षबाट कुनैपनि सुनुवाई नभएको हुनाले असार १० गतेदेखि भन्सार विभागमा धर्ना बसेका छौं। तीन दिन धर्नामा बस्दा समेत कुनै सुनुवाई भएको छैन संयोजक कार्कीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन।